चिनी खाँदै हुनुहुन्छ ? गुलियो चिनीको तीतो असर थाहा पाउनोस्
Radio Unityब्लग
काठमाण्डौ माघ १४ – जब चिनीको भाउ आकासिन्छ वा बजारमा अभाव हुन्छ, त्यसले गृहणीमा चिन्ता पैदा गर्छ । उनीहरुलाई लाग्छ, ‘चिनी पाइएन भने कसरी मीठा परिकार बनाउने ?’ चिनी महंगो हुँदा भोजभतेर खल्लो हुने भयो भन्ने गुनासोहरु पनि बेलाबखत सुनिन्छ । सही हो, चिनी स्वादिलो हुन्छ । गुलियो हुन्छ । तर, जिब्रोको लागि गुलियो चिनी स्वास्थ्यका लागि चाहिँ लाभदायक छैन ।
सायद गृहणीहरुलाई यो कुराको वोध हुँदो हो त, ‘चिनी नपाएर खानेकुरा खल्लो हुन्छ’ भन्ने मानसिकता बदलिन्थ्यो होला । हुन त अहिलेको जमानामा चिनीको प्रयोग ठ्याम्मै रोक्नुपर्छ भन्नु उति व्यवहारिक नहोला । तर, चिनी नखाँदैमा स्वास्थ्यमा केही फरक पर्दैन । यो कुरा चाहिँ सबैले थाहा पाउनुपर्छ ।
चिनीले स्वास्थ्यमा के कस्तो समस्या निम्त्याउँछ त ? सोझो असर हेर्न बालबालिकाको दाँत हेरे पुग्छ । चकलेट, आइसक्रिम, मिठाई जस्ता चिनीजन्य खानेकुरा खाने बालबालिका दाँत र मुखको समस्याले ग्रस्त हुन्छन् ।
विगतमा पहाडी एवं ग्रामीण भेगका बालबालिकाले चकलेट खान पाउँदैनथे, आइसक्रिम देख्नै पाउँदैनथे । उनीहरुको मुख र दाँतमा समस्या नै देखापर्दैनथ्यो ।
अहिले त हामी, बालबालिकालाई खुसी पार्न चकलेट दिन्छौं, उपहार पनि चकलेट/मीठाई नै । मायाले दिएका यी खद्यपदार्थले बालबालिकाको स्वास्थ्यमा भने प्रतिकुल असर पर्छ । सानै उमेरमा दाँतमा किरा लाग्नु यसैको नतिजा हो ।
कति अभिभावक त सचेत छन् । सकेसम्म उनीहरु आफ्ना छोराछोरीलाई चकलेट, मिठाइबाट अलग गराउन खोज्छन् । चिनीले बालबालिकामा मात्र होइन, किशोर-किशोरी, वयस्क, बृद्धबृद्धा सबैमा यसको नकारात्मक असर पर्छ । किशोरावस्थामा गुलियो खानेकुरा खानाले नै हो, मोटोपन बढाउने । अहिले कतिपय किशोर-किशोरी अस्वाभाविक मोटाएका हुन्छन् । यिनीहरु जहिले पनि मुटु रोगको जोखिममा हुन्छन् ।
मुटु रोगलाई बिगतमा खानदानी रोग पनि भनिन्थ्यो । संभ्रान्त एवं हुनेखानेलाई मात्र लाग्ने । मीठो मसिनो खाने तर शारीरिक श्रम नगर्नेहरु मुटु रोगका शिकार बन्थे । तर, अहिले गुलियोको अधिकतम प्रयोगले यो सबै वर्गमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संघले केही वर्षअघि मात्र ‘चिनीले स्वास्थ्यमा असर पार्ने’ भनी औपचारिक रुपमा पुष्टि गरेको छ । पछिल्लो दश बर्षमा जनस्वास्थ्य विशेषज्ञ, पोषणविद्, दन्त चिकित्सकहरुले भन्दै आएको कुरालाई उसले बल्ल मोहर लगाएको हो ।
विश्व स्वास्थ्य संघले यो पुष्टि गरिरहँदा केही जनस्वास्थ्य विशेषज्ञहरुले ‘२००२ देखि नै खानेकुरामा चिनीजन्य भोजनको मात्रा कम हुनुपर्छ’ भनेर निष्कर्ष निकालिसकेको थियो ।
‘ब्रिटिस मेडिकल पत्रिका’ जनस्वास्थ्यको क्षेत्रमा एक प्रतिष्ठित नाम हो । यसले लेखेको छ, ‘सिधै चिनी खानाले मात्र नभई चिनी हालेका मिठाई, फलफूलका रम, बिस्कुट आदिमा मिसिएको चिनीले पनि दाँतमा किरा लाग्न र मोटोपन बढाउन मद्दत गर्छ ।’ हामीकहाँ मात्र होइन, अमेरिकामा पनि छ यस्तो समस्या । त्यहाँका शिक्षित आमाबुवाले चिनीजन्य खाद्यपदार्थ छोराछोरीलाई खुवाउने गरेका छन् । परिणामः छोराछोरीमा मोटोपन लगायतका अनेकौ समस्या पैदा भएको छ ।
यसै विषयलाई लिएर अहिले स्वास्थ्यकर्मीहरु चिन्तित छन् । यसलाई कसरी न्युनिकरण गर्ने भन्ने सम्वन्धमा बहस सुरु भएको छ । नेपालमा पनि मोटोपनाको समस्या देखा परिसकेको छ । अब यसलाई यहाँ कसरी कम गर्ने भनेर सोच्ने बेला पनि भैसकेको छ ।
मोटोपन र हृदयरोगको जोखिम
विभिन्न तथ्यांकहरुले पनि विकसित देशहरुमा ज्यादा खाना, व्यायामको कमीले मोटोपना समस्या बढेर मुटु रोगको जोखिम निम्त्याउने र त्यो मृत्युको कारक बन्ने गरेको देखाएको छ । मोटोपनले गर्दा विभिन्नखाले क्यान्सर निम्त्याउन सक्ने कुरा प्रकाशमा आइसकेको छ । मधुमेह, मृगौला रोगको जोखिम पनि उत्तिकै छ ।
चिनीजन्य खानेकुरा खाएर शरीरमा रोगलाई निमन्त्रणा दिनुभन्दा त्यसलाई त्यागेर स्वास्थ्य जीवनशैली अपनाउने प्रण गर्नुपर्छ । ‘म स्वादको पछि दौडन्न, हल्का भए पनि नियमित व्यायाम गर्छु’ जस्ता कुरामा मनमनै प्रतिवद्धता जनाउनुपर्छ ।
खुट्टाका रगतका नसाहरु सुन्निने, घुँडा दुख्ने, ढाड दुख्ने समस्या मोटोपनकै कारण हो । तर, कमैले मात्र यि समस्याहरुलाई मोटोपनसँग जोडेर बुझ्छन् ।
मोटोपनको कारण तमाम स्वास्थ्य समस्या देखा पर्छ । तर, हामी त्यसको निदान अर्कैतिर खोज्छौं । औषधी गछौर्ं, अप्रेसन गर्छौं । विडम्बना, चिनीजन्य खानेकुरा खान छाड्दैनौ । केक, मिठाई, आइसक्रिम देख्नासाथ र्याल चुहाइहाल्छौ ।
चिनीप्रतिको यस्तै आशक्तिले गर्दा बेलायतका स्वास्थ्यकर्मीहरुले ‘चिनीमा कर बढाएर त्यसको खपतमा न्युनीकरण गर्नुपर्छ’ भनेका छन् ।
चिनीजन्य खानेकुराको लत छुटाउन वाह्य नियन्त्रणले मात्र पनि पुग्दैन । यसको लागि आफैले प्रतिवद्धता गर्न जरुरी छ ।
चिनीजन्य खानेकुरा खाएर शरीरमा रोगलाई निमन्त्रणा दिनुभन्दा त्यसलाई त्यागेर स्वास्थ्य जीवनशैली अपनाउने प्रण गर्नुपर्छ । ‘म स्वादको पछि दौडन्न, हल्का भए पनि नियमित व्यायाम गर्छु’ जस्ता कुरामा मनमनै प्रतिवद्धता जनाउनुपर्छ ।
हामीले चिनी खान्न भने पनि बिस्कुट, चकलेट, विभिन्न चिसो पेय पदार्थ लगायतका विभिन्न बस्तुमा लुकेकोे चिनी थाहै नपाइकन पनि खाइरहेका हुन्छाैं, जसका बारेमा हामीलाई पत्तै हुँदैन । त्यसले हामी र हाम्रो स्वास्थ्यमा नराम्रो असर पार्दछ ।
आफ्ना छोराछोरीलाई दिने चिनीजन्य पदार्थ कति विषाक्त छ भन्ने कुराको हेक्का राख्नुपर्छ ।
-अनलाइन खबर बाट