जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा नाम दर्ता गराउनेको भीड (फोटो सहित)
Radio Unityफोटो ग्यालरी
प्रकाश पार्की/रेडियो युनिटी ।
डडेल्धुरा, साउन ३ । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न सुरु गरेपछि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको भीड लागेको छ ।
यसअघि मतदाता नामावलीमा छुटेका कारण स्थानीय तहको निर्वाचनमा भोट हाल्नबाट वन्चित भएकाहरु नाम दर्ताका लागि जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा धाइरहेका छन् ।
मतदाताहरुलाई फोटोसहितको नामावली दर्ताका लागि साउन १ देखि १५ गतेसम्म निर्वाचन आयोगले समय दिएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका निर्वाचन अधिकृत कृष्ण सिंह नायकले बताए । जिल्लामा नेपाली नागरिकता लिएका तर फोटोसहितको नामावलीमा नाम दर्ता गराउन छुटेकाहरुले उत्साहपूर्वक नाम दर्ता गराइरहेको उनले बताएका छन् ।
जिल्लाका ४ हजारभन्दा बढी व्यक्ति अझै पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेको हुन सक्ने जिल्ला निर्वाचन कार्यालयको अनुमान छ । निर्वाचन कार्यालयमा युवादेखि वृद्ध–वृद्धाहरु समेत आएर नामावलीमा नाम दर्ता गराइरहेको निर्वाचन अधिकृत कृष्ण सिंह नायकले बताएका छन् ।
स्थानीय तहको निर्वाचनपछि आयोगले प्रदेश र संघको निर्वाचन तयारी थालेको छ। त्यसका लागि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो । नामावली अद्यावधिकले स्थानीय तहको निर्वाचन अघि छुटेका मतदाताहरुलाई नाम दर्ता गर्ने अवसर दिएको छ। १८ वर्ष उमेर पुगिसकेका व्यक्तिले फोटोसहितको नामावली दर्ता पाउने छन् । डडेल्धुरामा ७५ हजार ७ सय ८० मतदाता छन् ।
७५ वर्षीय वृद्धाले गरिन् नामावलीमा नामदर्ता
मंगलबार जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा आएर जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिका ७ की ७५ वर्षीय गौरीदेवी भट्टराईले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएकी छिन् ।
‘मसँग पुरानो परिचय पत्र थियो । तर त्यो परिचय पत्रले स्थानीय तहको निर्वाचनमा भोट हाल्न पाइएन,’ उनले भनिन् । अब हुने निर्वाचनमा भोट हाल्नको लागि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको उनको भनाइ छ ।
फोटोहरु