क्यामब्रिज पब्लिकका विद्यार्थीलाई सास्ती : एउटै बसमा ७० भन्दा बढी विद्यार्थी (फोटोसहित)

Radio Unity

फोटो ग्यालरी

आशिष मल्ल/रेडियो युनिटी ।
डडेल्धुरा, भदौ ४ । अहिले प्रतिसप्रर्धाको जमाना, विभिन्न निजी स्तरबाट चलेका बोर्डीङ्ग स्कुलहरुले विद्यार्थी तान्न अनेकौ सुविधाको बारेमा प्रचारप्रसार गर्ने गरेका छन ।

तर डडेल्धुराको एउटा निजी विद्यालयका कलिला स–साना बालवालिकाले स्कुल बसको नाममा सास्ती भोग्ने गरेकाका पाइएको छ । डडेल्धुरा सदरमुकामको क्यामब्रिज पब्लिक स्कुलको बस ठिक दिउँसो ४ बजे अमरगढी किल्ला निर रोकिएको हुन्छ र घन्टी बजेपछि विद्यार्थीहरुको हुल बसतिर दौडिन्छन् ।

स–साना विद्यार्थी पहिला चढ्छन, ठूला कक्षाका विद्यार्थी पालो पर्खिन्छन् । दुईजनाको सिटमा ४ जनासम्म साना विद्यार्थी बस्छन् । ठूला विद्यार्थी कोचिँएर ढोकैसम्म आइपुग्छन् । संगै बसेका शिक्षक अलि मिलेर पछाडी बस् भन्दै हप्काउने गरेको रेडियो युनिटीको समाचार शाखाको टोलीले भेटेको हो ।

क्यामब्रिज पब्लिक स्कुलका विद्यार्थी यसरी नै विद्यालय आवतजावत गर्छन् । साना विद्यार्थी कोचिएर बस्न बाध्य छन । क्यमब्रिज पब्लिकले दुईसिटमा चार–पाँच जनासम्म विद्यार्थीहरु राख्ने गरेको छ । कुल ३२ सिट भएको उक्त बसका ७० जना भन्दा बढी विद्यार्थी कोचिएर घर सम्म पुग्ने गरेका छन् ।

त्यसरी साना बालबालिकालाई कोचाएर राख्नाले आफ्ना बच्चाहरु माथि शारिरिक रुपमा असर पर्न सक्ने अभिभावकहरुले बताएका छन् । तर विद्यालयका प्रिन्सीपल मोहन श्रेष्ठलाई सोध्दा आफू त्यस बारे अनविज्ञ रहेको बताएका छन् । विद्यार्थीहरु आफै बस्ने गरेको हुन सक्ने उनले बताएका छन् ।

जिल्ला शिक्षा कार्यालय भएर गुड्ने उक्त स्कुल बसलाई देख्दा देख्दै पनि कार्यालय मौन रहेको छ । यसरी कोचिएर बस्दा बालबालिकाहरुलाई चोटपटक लाग्ने सम्भावना रहेकोले बरु दुई ‘ट्रिप’ गर्नु पर्ने आवश्यक रहेको विद्यार्थीका अभिभावकले बताएका छन् ।