बिरेन्द्र जैरु/रेडियो युनिटी ।
डडेल्धुरा, भदौ १५ । सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा डडेल्धुरामा राष्ट्रिय गौरा महोत्सव सुरु भएको छ । राष्ट्रिय गौरा महोत्सवको बिहीबार एक औपचारिक कार्यक्रमका बीच उद्धघाटन गरिएको छ ।
विगतका वर्षहरुझै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले ‘राष्ट्रिय गौरा महोत्सव २०७४’ जिल्ला सदरमुकामको बसपार्कमा आयोजना गरेको हो । बिहीबारदेखि सुरु भएको गौरा महोत्सव १८ गते सम्म संचालनमा रहनेछ ।
आफ्नो परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा सुदूरपश्चिमका सम्पूर्ण क्षेत्रका व्यक्तिहरुको सहभागीता रहने गर्दछ । महोत्सवको पहिलो दिन देउडा, चैत, धुमारी लगायतका सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको छ ।
शुक्रबार गौरा देवीका निरन्तर कार्यक्रमहरुसँगै महिला र पुरुष देउडा प्रतियोगिताहरु संचालन गरिने राधाकृष्ण मन्दिर विकास समितिले जनाएको छ ।
आफ्ना सन्ततीहरुको आयु लामो होस् र दिर्घायु होस भनि धार्मिक परम्परा अनुसार परम्परादेखि नै यो पर्व मनाउँदै आएको पूर्व शिक्षक तथा महाकलाी सहित्य संगम शाखा डडेल्धुराका अध्यक्ष कर्ण बहादुर चन्दले बताएका छन् ।
सुदूरपश्चिमबासीहरुले गौरा पर्वलाइ दशै र तिहार भन्दा पनि महत्वपूर्ण पर्वको रुपमा लिने गरेको राधा कृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवराज भट्टले बताएका छन् ।
‘हाम्रा सांस्कृतिक परम्पराहरुलाई जर्गेना गर्ने सके यसले हाम्रो पहिचान गराउनुका साथै आउने सन्ततीहरुले पनि यसको अनुभुति गर्न पाउँछ’ प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले भने ‘यस्ता पर्वहरुलाई महत्वका साथ अगाडि बढानुपर्छ’
‘गौरा पर्व पहिले गाउँगाउँमा मात्रै मनाउने चलन थियो । तर अहिले राधा कृष्ण मन्दिरले गौरा पर्वलाई महोत्सवकै रुपमा मनाउन थालेको छ ।’ राधा कृष्ण व्यवस्थापन मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष भोज राज ओझा भने ।
तीन दिन सम्म चल्ने उक्त महोत्सवमा गौरा नाच, फाग सहित चैत हुड्केली, बालोनाथ घुईचम्फा, अठेवाली जस्ता कार्यक्रमहरु हुनेछन् । भदौ १८ गते गौरा नाच, फाग, बालु नाच, गौरादेवीलाई पुजाआजका साथ श्रीकृष्ण मन्दिरमा सेलाउने र गौराका विविध कार्यक्रमका साथ पुरस्कार वितरणका साथै नतिजा प्रकाशन र गौरा समापनको कार्यक्रम रहेको समितिले जनाएको छ ।



















