यो बर्षको पुसे पन्ध्र !
Radio Unityब्लग
मंसिर महिनाले नेटो काट्ने तयारी गर्दै गर्दा डडेल्धुरा लगायत पहाडी जिल्ला हरुमा चिसोले पनि आफ्नो सिमा पार गर्ने तयारी गरिरहेको हुन्छ त्यसैले विगत केही दिन देखी मर्निङ्ग वाक पनि प्रभावित भईरहेको थियो वाक भन्दा पनि सिरक प्यारो, निन्द्रा प्यारो जस्तो भनौ, मर्निङ्ग वाक जानको लागी तयार गरिएको अलार्म पनि किन बज्छ होला जस्तो लाग्न लागीरहेको बेला मोवायलमा अलार्म बजे पनि बन्द गरेर सुत्ने करिव करिव वानी जस्तो भईसकेको थियो ।
अलार्म बज्ने र बन्द गरेर सिरक भित्र गुटमुटिने करिव करिव दैनिकी जस्तो बनिसकेको थियो अचानक फोन को घण्टि बज्छ टिनिनि टिनिटि ……. मर्निङ्ग वाकको लागी सायद साथीहरुले फोन गरे होलान जस्तो लाग्यो विगत केहि दिन देखी साथीहरुको त्यस्तो फोन आउदा आज सकिदैन होला भनेर टारीरहेको थिए तर त्यो फोन त्यस्तो होईन रहेछ गैर सरकारी क्षेत्रमा पहिले केही बर्ष संगै काम गरेको साथी अमर मित्र साउद जीको फोन रहेछ, साथीले फोनमा पुसे पन्ध्र नौलो किसिमले मनाउने प्रस्ताव राख्नु भयो ।
अमर जी र म गैर सरकारी क्षेत्रमा मात्र संगै थिएनौ सुदुरका थुप्रै पर्यटकिय गन्तव्यमा पनि सगै घुम्न गएका छौ खप्तड पनी दुई पटक संगै चुमेका थियौ तेश्रो पटक भने अमर जी छुट्नु भएको थियो भने २०७४ साल असार महिनाको रारा भ्रमणमा पनि छुट्नु भएको थियो सायद त्यसैले होला अमरजी ले प्रस्ताव गर्नु भयो पुसे १५ बर्दिया राष्ट्रिय निकुन्जमा मनाउने भनेर ।
आफ्नो कार्यालयको काममा साह्ै ब्यस्त छु तर घुम्ने प्रस्ताव लाई नकार्न पनि कसरी सकिन्छ ? फेरी अमर जी अफिसियल काम ले नेपालगंज अनी म डडेल्धुरा त्यो पनी गाहे जस्तो, क्यालेन्डर पल्टाए धन्न नजिकै सनिवार पनि रहेछ र केही नसोची स्विकार गरे अमर जी को प्रस्ताव अनी हुईकिए बर्दियाको लागी डडेल्धुरा बाट ।
बर्दिया राष्ट्रिय निकुन्ज आफैमा विविधता भएको ठाँउ हो भिन्न भिन्न स्वाद लिन सकिन्छ प्राकृतिक रुप मा त सुन्दर छदैछ तयस माथी कला र संस्कृतिको पनी कम्ति धनी छैन बर्दिया । यो बर्ष मात्र तेश्रो पटक भ्रमण गरियो वर्दिया…. अझ धेरै पटक घुम्ने रहर छ ।
मोटसाईकलको यात्रा त्यो पनी पुषको मध्यतिर घामले पनी उज्यालो मात्र दिईरहेको अनुभव हुदैथियो… मनमा वर्दियामा मनाईने पुषे १५ र अग्रेजी नयाँ बर्ष लाई भव्यताका साथ स्वागत गर्ने कुरा ले मन आनन्दित बनाईरहेको थियो महेन्द्र राजमार्ग अन्तर्गत प्रसिद्ध घोडा घोडी ताल आएको पत्तै भएन , करीव दुई घण्टा घोडाघोडीको तालमा चराहरु हेर्दै विताईयो…..साच्चै जैविक विविधता भएको ताल हो यो हरेक सिजनमा भिन्दा भिन्दै किसिमका चराहरु देख्न पाईने यो ताल मुख्य राजमार्ग संगै भएकाले पनि सुदुरका अन्य पर्यटकिय गन्तब्य भन्दा यो तालमा आन्तरीक तथा बाह्य पर्यटकहरुको भिड देख्न सकिन्छ ।
वर्दियाको डल्ला होम स्टे पछिल्लो समयमा चर्चित बनेको छ अझ भनौ बर्दिया राष्ट्रिय निकुन्ज भित्रको प्रमुख आकर्षण भन्दा फरक नपर्ला डल्ला होम स्टे । बेलायतका युराजले पनि भ्रमण गरेको थारु गाँउ डल्लामा रहेको २२ वटा घरहरु लाई होम स्टेको लागी तयार गरिएको छ , सफा सुग्घर कोठाहरु अनी आफैले उत्पादन गरेको अन्न र तरकारीहरु ले स्वागत गरिन्छ जहाँ म दोश्रो पटक बस्न जादैछु….डल्लाको पथप्रदर्शक संग फोनमा कुरा गरेर साँझ सम्म पुग्ने जानकारी गराएर घोडाघोडी ताल बाट यात्रा सुरु गरे बर्दिया राष्ट्रिय निकुन्जको आम्वासा चेकपोष्टमा अमर जी संग भेट्ने सल्लाह गरेर ।
आम्वासा ठाकुरद्धारा प्रवेश गर्ने मुख्य प्रवेशद्धार हो महेन्द्र राजमार्ग बाट पहिले सिमित बसहरु मात्र आवतजावत गर्ने हुदा पर्यटकहरुले सास्ति बेहोर्नुपर्ने हुन्थ्यो भने अहिले प्रसस्त टेम्पोहरुले पर्यटकहरु लाई सुविधा दिई रहेकोछ …सार्वजनिक बसले प्रति व्यक्ति ५० रुपैया लिन्छ भने टेम्पोले प्रति व्यक्ति १०० रुपैया लिने रहेछ अमर जी लाई कुर्दा स्थानीय संग गरेको कुराकानी बाट थाहा भएको थियो ।
पछिल्लो समयमा नेपालीहरुमा पनि घुम्ने वानी नजानिदो किसिमले बढेको देख्न सकिन्छ , नेपालका पर्यटकिय गन्तव्यहरुमा । पछिल्लो समय खप्तड, रारा, जोमसोम, तिलिचो लगायतको भर्जिन पर्यटकिय गन्तव्य हरुमा पनि नेपालीहरुको भिड लाग्न थालेको विभिन्न सामाजिक संञ्जालहरुमा देख्न सकिन्छ । वर्दियामा पनि मुस्तांग वाट ४० जना दिदि वहिनिहरुको समुह र दांग वाट १० जनाको समुह पाहुना बनेर होम स्टेमा आउदै गर्नुभएको कुरा घर नं. १७ मा पुगे पछी थाहा भो जहाँ हामी लाई बस्नको लागी व्यवस्था गरिएको थियो ।
पछिल्लो समय घर नं.१२ को वसाई पनि उत्कृष्ठ र सम्झन लायक बनेको थियो यो पटक घर नं.१७ को बसाई पनि झनै उत्कृष्ठ हुने कुरामा द्धिविधा थिएन किन कि ठुलो समुह सहित हामी थियौ डल्ला गाँउमा । घर नं. १७ उक्त वडाको वडाअध्यक्षको घर पनी रहेछ भने भने उक्त घरका दुई भाई छोराहरु मध्ये जेठा सुदिप चौधरी युवा चोरी सिकारी समुहमा आवद्ध भई प्राकृतिक पथ प्रदर्शकको रुपमा काम गर्दारहेछन वहाहरुको सत्कार सम्मानले नतमस्तक भईयो ।
पुर्ण रुपमा आफैले उत्पादन गरेको अर्गानिक खाना सम्भवतः धेरै पछी चाख्न पाईयो त्यो पनी थारु स्टाईलमा साथमा लिईयो हल्का मदिरा त्यो पनी घर मै बनाईएको लोकल रक्सि लोकल कुखुराको मासु संग पुस १५ को लामो अनि चिसो रात लाई रंगिन बनाउन सहयोग गर्छकी भनेर । पुस १५ लाई बिशेष बनाउन खाना पश्चात सामुदायिक भवनमा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको रहेछ सामान्यतया बर्दिया आउने पाहुनाहरुले १५०० देखी ३००० हजार सम्म तिरे पछी साँझ सास्कृतिक कार्यक्रम हेर्न पाईदो रहेछ ।
सामुदायिक भवनमा करीव करीव २० जना जती उपस्थित भईसकेका थियौ कौतुहुल मुडमा प्रतिक्षा गरिरहका हामी हरुको कौतुहुलता तोडनको लागी स्थानिय थारु महिलाहरु आफनो परम्परागत पहिरनमा प्रस्तुती लिएर आउनु भयो पहिलो प्रस्तुती मजिरा नाच लिएर आउनु भो जुन प्रायः दशैको सेरोफेरोमा नाचिदो रहेछ भने दोश्रो मा झुम्रा नाच प्रस्तुत गर्नु भो जुन प्रायः सबै चाडपर्वमा नाचिने नाच रहेछ, झुम्म भए पछी नाचिने नाच भएर होला सायद झुम्रा नाच भनिएको त्यसै गरी तेश्रोमा लाठिनाच जुन बच्चाहरु गोठालो जादा रमाईलोको लागी नाच्ने गदारर्हेछन भने चौथो तथा अन्तिम प्रस्तुती छोकरा नाचमा चाहि महिलाहरु ले आफै गित गाएर नाच्ने तथा पाहुनाहरु लाई पनि नचाईदो रहेछ यसरी अन्तिममा वहाँहरु संगै नाच्दा को रमाईलो सायद जिवनकै रमाईलो क्षणहरु मध्येको एक हो भन्न लाई मलाई कुनै कञ्जुस्याई हुने छैन ।
वर्दिया राष्ट्रिय निकुन्ज भित्र करिव करिव ५ दर्जन होटेल र रिसोर्टहरु पनि पाहुनाहरु लाई आतिथ्यता दिन तयार अवस्थामा छन निकुन्ज भित्रको गोही प्रजनन केन्द्र, कछुवा प्रजनन केन्द्र, हात्तिसार, जंगल सफारी हरु त्यहाँ को प्रमुख आकर्षणको रुपमा रहेको छन तर यस पटक वाघ गणना सुरुभएको कारण हात्ति सफारी गर्न पाईएन तर बाघको संख्यामा बृद्धि भई ८० वटा सम्म पुग्न सक्ने खुसीको कुराले हात्ति सफारी गर्न नपाएको दुःख लाई ओझेल पारी दियो ।
सामान्यतया ६ जना भन्दा धेरैको समुहमा गयो भने जिप सफारी गर्न आर्थिक हिसावले सहज पर्दाे रहेछ तर हामी दुई जना मात्र लाई आर्थिक भार धेरै हुने ठानेर जिप सफारीको विकल्पको रुपमा निकुन्ज संगै जोएिको खाता कोरीडोर अन्तर्गत पर्ने शिब सामुदायिक बन घुम्न निस्कियौ जहाँ एक सिंगे गैडा र ट्रि हाउस प्रमुख आकर्षणको रुपमा रहेछ ।
सामुदायिक बनमै हुर्केका एक सिंगे गैडा लाई नजिकै बाट हेर्नुको मज्जा बेग्लै हुदो रहेछ त्यो भन्दा पनि अर्काे आकर्षण ट्रि हाउस रहेछ ठुलो रुखमा बनाईएको घर जहाँ वास वस्यो भने राति विभिन्न जनावरहरु को आवाज सुन्न सकिने तथा संजोग मिल्यो भने विहान मिर्मिरे र झिसमिसे साँझको समयमा विभिन्न जनावर लाई आखै अगाडी देख्न सकिने सम्भावना हुदो रहेछ । त्यो ट्रि हाउसको छेउ छाउमा बाघको गणनाको लागी राखिएको क्यामेराहरु ले पनि जनाउदछ की त्यो ट्रि हाउस भएको क्षेत्र भनेको बाघहरु आवत जावत गर्ने क्षेत्र हो, कुरा सुन्दा त उत्सुकता लाग्यो र अर्काे पटक समुहमा आएर त्यहि ट्रि हाउसमा रात विताउने प्रण गर्दै त्यहाँ वाट पनि निस्कियौ ।
पाहुनाहरु लाई घरमा आउने वितिकै टिका र फुल अनी मालाले स्वागत गर्ने मजाको चलन छ २०७१ मा नेपालको उत्कृष्ठ होम स्टे बाट पुरस्कृत भएको उक्त डल्ला होम स्टेमा, डल्लाको बसाई सम्झन लायक नै भयो यो बर्षको पुसे १५ सम्झन लायक नै भयो घर नं.१७ को घरमुलीको हात बाट विदाईको टिका लगाएर हातमा फुल समाईसकेका थियौ फर्कदा कता बाट फर्किने भनेर सल्लाह हुदै थियो हामी दुई विच , अचानक महेन्द्र राजमार्ग बाट नभएर हुलाकी मार्ग हुदै जाने सल्लाह भयो ।
हुलाकी मार्ग सामान्य होला सोचेको थियौँ, अरु कुरा भन्दा पनी नौलो बाटो र सामान्यतया चिसापनी हुदै जाने महेन्द्र राजमार्ग भन्दा हुलाकी बाटो अली छोटो होला भनेर मात्र हुलाकी मार्ग रोजेका थियौ । राजापुर, दौलतपुर, टिकापुर हुदै लम्कि आएर मुख्य राजमार्ग संग जोडिएर फर्कने योजना बनाएका हामी हुलाकी मार्ग मा हिडि सकेपछी पो अचम्म परयौँ सोच्दै नसोचेको नेपालकै लामो अर्थात १०१५ मिटर लामो कोठियाघाट पुल त्यही बाटो मा पर्दाे रहेछ । कोठियाघाट वाट अगाढी बढीसकेपछी राजापुर हुदै दौलतपुरघाट बाट किस्तिमा मोटरसाईकल सहित कर्णाली तरेर टिकापुर पुग्यौ, त्यसरी किस्तीमा मोटर सहित नदि पार गरेको पनि दुवै जनाको पहिलो अनुभव रहेछ । “एक पन्थ दो काज ”भन्ने हिन्दि उखान थियो तर हाम्रो “एक पन्थ तिन काज” जस्तो भो बर्दिया घुम्न निस्केको मान्छ धेरै ठाउहरु घुम्न र हेर्न पाईयो ।
नदि तरेर मोटरसाईकलमा हिडेको एकै छिनमा टिकापुर पार्क पनि भेटियो…यो पार्क मा पहिले पनि धेरै पटक घुमिसकेको हुदा एक छिन मात्र टहलेर आफनो गन्तब्य तिर लागीयो ।
साच्चै सोच्दै नसोचेको आनन्द का साथ यो बर्षको पुसे १५ मनाईयो सुन्दर स्थान हरु घुम्दै, सुन्दर मन हरु संग सम्बन्ध बढाउदै ….बर्दिया निकुन्ज घुम्दै भारतको नैनिताल जादै गरेका मुस्तांगे दिदि वहिनिहरु लाई कम्तिमा बाटोमा पर्ने घोडाघोडी ताल, बेतकोट ताल र दोधारा चादनीको झोलुंगे पुल घुमी दिनु होला भनेर अनुरोध गरियो र वहाँ हरु ले पनि मुस्तांग घुम्नको लागी निम्तो दिनु भयो र टेलिफोन नम्बर साटासाट गरियो ।
कति सुन्दर ठाउहरु छन, कति सुन्दर मन हरु छन हाम्रै नजिक तिर, जहाँ सहजै घुम्न सकिन्छ ….यो यात्रा स्मरण लेख्दै गर्दा ति सबै लाई सम्झिरहेको छु जो यात्रामा भेट हुनुभएको थियो, ति सबै लाई सम्झिरहेको छु जो संग छोटो नै भए पनी संगत भएको थियो र कल्पना गरिरहेको छु कुनै दिन त्यो मुस्तागको दिदि वहिनिहरुको निम्तो मान्न पुगेको दिन कस्तो होला र प्रण गर्दैछु एक पटक अवश्य पुग्ने छु त्यो ठाँउ जहाँ तपाईहरु ले निश्वार्थ भावना ले बोलाउनु भएको छ ।
आउनुहोस तपाईहरु पनि आफना नजिकका पर्यटकिय गन्तब्यहरु भ्रमण गर्नुहोस , आन्तरीक पर्यटन प्रवद्र्धन लाई टेवा पुरयाउनुहोस जिवनका केही पलहरु लाई सम्झन योग्य बनाउनुहोस …..जय पर्यटन ।
(लेखक गणेश बहादुर मगर फोटो पत्रकार हुन, उनि पर्यटनक्षेत्रमा पनि कलम चलाउँछन ।)