ON AIR..........

डडेल्धुरामा पहिलो पटक खानेपानीका धारामा मिटर जडान

आशिष मल्ल/रेडियो युनिटी।
डडेल्धुरा, साउन १० । डडेल्धुराको परशुराम नगरपालिका मटहल्दोमा जिल्लामै पहिलो पटक खानेपानीको धारामा मिटर जडान गरिएको छ । खानेपानीलाई मितव्ययी ढंगबाट उपभोग गर्ने र सबै उपभोक्तालाई बराबर पानी वितरण गर्ने उद्देश्यले डडेल्धुराको परशुराम नगरपालिका-१२ पुन्तुरा मटहल्दोमा लालढुंगा खानेपानी उपभोक्ता समितिले मिटर जडान गरेको हो ।

Metter Jadan

यसले उपभोक्तालाई जिम्मेवार बनाउने उपभोक्ता समितिले जनाएको छ । आयोजना जिल्ला खानेपानी डडेल्धुराको कुल ६२ लाख लागतमा सम्पन्न भएको हो । ५५ हजार लिटरको ट्याङकी भएको उक्त आयोजनाबाट ७५ घरधुरी लाभान्वित भएका छन् ।

खोलाबाट पानी खानुपर्ने तथा खानेपानीको एकदमै समस्या भएको उक्त गाँउको धारामा मिटर जडान भएपछि सहज भएको उपभोक्ता समितिका अध्यक्ष हरी धामीले बताए । ‘खानेपानी कम भएको ठाँउमा योजनाले सहज भएको छ,’ उनले भने, ‘घर घरमा धारा भएपछि सबै गाँउले अहिले ठीक छ भन्छन ।’

उनले अघि थपे, ‘पाँच वर्षको लागि आयोजनाले धान्ने भएपछि अबको पाँच वर्षसम्म आन्दछ छ ।’ उक्त नमुना आयोजना देखेपछि अन्य उपभोक्ता समितिले धारामा मिटर जडान गर्ने मनसाय बनाएको उनले बताए ।

जम्मा ७५ घरधुरी रहेको पुन्तुरा मटहल्दोमा खानेपानी आयोजना सम्पन्न हुनुपूर्व पहिले १२ घरलाई १ धारा रहेकोमा लाइन लागेर पानी भर्नुपर्ने हुँदा खानेपानीको समस्या हुने गरेको थियो ।

मिटर जडान भएपछि गाउँलेहरुले अहिले खानेपानीको जथाभावी प्रयोग गर्न छोडेका छन् । धारामा जडान गरिएको मिटरका कारण धाराबाट पानी खेर बग्न नदिन उपभोक्ताहरु सचेत भएका छन् ।

‘आजभोलि मिटर लगाएर पानी खेर जादैन, खानेजती पानी भर्छौ,’ मटहल्दोकी स्थानीय जमुना धामी भन्छिन,’ ‘विगतमा जथाभावी धारा खोल्ने गर्थे तर अहिले पैसा धेरै तिर्नुपर्छ भन्ने डरले पनि सबैले आवश्यक पर्दा मात्र धारा प्रयोग गर्छन ।’ मिटर जडान भएपछि उपभोक्ताले २४ युनिटसम्मको १०० र त्यसपछिको थप १ युनिटको १० रुपैयाँका दरले तिर्नुपर्छ ।

© Copyright 2016, All Rights Reserved
FM Radio from Dadeldhura or Far Western Nepal
Designed by: Ganesh Thagunna